
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सांसद रावलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गर्न नहुने दाबी गरेका छन् । उनले पैसामा स्वाधिनता साट्न नसक्ने प्रतिक्रिया दिएका हुन् ।
‘एमसिसी पछाडिको ढोकाबाट आउन खोजेको जस्तो छ,’ सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रावलले भने, ‘कांग्रेस नेता (शेरबहादुर देउवा)ले यस्तै संकेत गर्नुभयो ।
उहाँले महाकाली सन्धीमा पनि यस्तै भन्नुभएको थियो ।
एमसिसी पारित गरे राष्ट्रहित विपरीत हुनेछ ।
देशको स्वाधिनतामा आँच आउने कुरा पास हुँदैन ।
पैसामा स्वाधिनता साट्न सकिन्न ।’
संसदमा कांग्रेस सभापति शेरबहादुर देउवाले चाँडै एमसिसी पारित गरेर जानुपर्ने बताएका थिए ।
त्यस्तै उनले भारतले अतिक्रमण गरेका भूभागसहितको नक्सा जारी गर्ने कुरा स्वागतयोग्य भएको बताएका छन् ।
‘हाम्रो भू–भागमाथि भारतद्वारा अतिक्रमण गरिएको छ ।
हामीले लामो समयदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतको उपस्थिति हट्नुपर्छ भन्ने माग गर्दै आएका छौं ।
नेपाली जनताले आवाज उठाउँदै आएका छन् ।
तर, हालै भारतबाट त्यो क्षेत्रमा सडक निर्माण गरेको कुरा समेत आएको छ ।
यसबाट एकातर्फ हामीले विश्वमा उत्पन्न कोरोनाको महामारीबाट जोगिनुपर्नेछ भने अर्कोतर्फ हाम्रो राष्ट्रिय स्वाधिनता स्वतन्त्रता र सुरक्षातर्फ निकै गम्भीर भएर लाग्नुपर्नै अवस्था छ’, उनले भने, ‘यसतर्फ नेपाल सरकारको तर्फबाट राष्ट्रिय स्वाधिनता स्वतन्त्रताको रक्षा गर्ने र योभन्दा अगाडि नेपालको नक्सामा उल्लेख हुन नसकेका तर, पहिले थियो ।
कुनै समयमा त्यहाँ उल्लेख भएता पनि बीचमा उल्लेख नभएका लिम्पियाधुरा, लिपुलेक कालापानीलगायतलाई समावेश गरेर छिटोभन्दा छिटो नक्सा प्रकाशित गर्नै कुरा स्वागतयोग्य छ ।
हामी सबैभन्दा पहिले आफ्नो भू–भागभित्र आफ्नो देशभित्र स्वाधिन नागरिकको रुपमा रहन सकेनौं भने हाम्रा विकासका प्रयासहरु हामीले कल्पना गरेको समृद्ध समाज निर्माण गर्ने कुरामा हामी आफैं निर्णय गर्न सक्ने अवस्थामा हुँदैनौं ।’