
विश्व्यापी महामारीको सन्त्रास नेपालमा पनि फैलिन थालेपछि अरुण सैंजुको बास नै भक्तपुर अस्पतालमा हुन थालेको छ। १२ वैशाखबाट उनी २४ घण्टै अस्पतालमा रहने गरेका छन्। कोरोना संक्रमितलाई ल्याउने, पुर्याउने एवं संकलित स्वाब टेकु अस्पताल पुर्याउने, ल्याउने गर्छन्।
३ जेठको दिउँसोपख पनि अरुण सैंजु भक्तपुर अस्पतालमै थिए। त्यहीबेला उनलाई नेपाली सेनाका एक अधिकृतको फोन आयो, “अरुण जी कुनै पनि एम्बुलेन्स वा शव बाहकले कोरोनाको संक्रमणबाट ज्यान गुमाएकी महिलाको शव लैजान मानेनन्, तपाईं तयार हुनुपर्यो।”
उनले साथी राजेश गाइजुलाई तयार पारेर तुरुन्तै काभ्रेस्थित् धुलिखेल अस्पताल पुगे। त्यहाँबाट कोभिड-१९ का कारण ज्यान गुमाएकी पहिलो संक्रमितको शव बोकेर पशुपति आर्यघाटतिर लागे। यसअघि उनीहरूले दुई जना कोरोना संक्रमितलाई बोकिसकेका थिए। जसले गर्दा पनि उनीहरूलाई कुनै डर लागेन।
“कोरोना संक्रमित महिलाको निधन भएको त थाहा पाएका थियौं। हामी पनि महामारीविरुद्धकै अभियानमा थियौं। त्यही बेला आर्मीका एक जना अधिकृतले फोन गरेर शव कसैले पनि लैजान नमानेको कुरा गर्नुभयो। हामी दुई जना तयार भएर तुरुन्तै अस्पताल पुग्यौं। र, शवलाई प्रोटोकल अनुसार राखेर पशुपति गयौं”, अरुणले भने।
उनीहरूले आफ्नै गाडीमा शव राखेर ल्याएका थिए। मृतक महिलाका श्रीमान भने अर्को गाडीमा थिए। शव व्यवस्थापन निर्देशिका अनुसार उनले छुन त पाएनन् टाढाबाटै हेरेर रुँदै आर्यघाटसम्म पुगे। “आफ्नै जीवनसाथीको निधन हुँदा पनि छुन समेत नपाएको उनको हेराई र रुवाईबाट झल्किन्थ्यो”, राजेशले भने।
देखापढी डटकममा प्रकाशित भएको यो समाचार पूरा पढ्न यहाँ क्लिक गर्नुहोस्