
बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।
बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे ।
मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको बताए।
‘उहाँको रिपोर्ट पोजेटिभ आयो, योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ,’ मन्त्री बरालले भने।
मन्त्री बरालले कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधार मृतकको शव व्यवस्थापन गर्न निर्देशन दिएको जानकारी दिए। उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने मन्त्री बरालले बताए।
योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।