
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रचण्डलाई फेसबुकमा अशिष्ट र अमर्यादित गाली गरेको विषयमा उजुरी परेपछि पत्रकार दीपक पाठकलाई आज विहान प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
रेडियो नेपालको बोर्ड सदस्य समेत रहेका पाठकलाई साइबर क्राइमको अभियोग लगाइएको छ ।
झापा घर भएका पाठकलाई साइबर ब्यूरोले प्रचण्डलाई गाली गरेको अभियोगमा पक्राउ गरेको जनाइएको छ ।
हामीले दीपक पाठकको फेसबुक नियाल्दा बैशाख ६ गते प्रचण्डले घरमा मासु पकाउँदै गरेको तस्विर राखेर एउटा स्टाटस् लेखेको देखिन्छ । उनले लेखेका छन् “म जस्ता धेरैले समर्थन गरेका पार्टीमा परिस्थिती जन्य कारणले कार्यकारी अध्यक्षको हैसियतमा पुगेका अत्यन्त महत्वकांक्षी मनुवाको यो स्तरको बुद्दिलाइ मैले भने आश्चर्यको रुपमा लिएको छैन । बरु मैले यतिबेला रोमन सम्राट निरोलाई सम्झी रहेको छु जो सुन्दर शहर रोम जलाएर आफू बार्दलीमा बसेर बासुरी बजाउथे ।”
त्यस्तै चैत २८ गते उनले प्रचण्डलाई लक्षित गर्दै लेखेका थिए “अमेरिका विल गेटस आफ्नो लगनशीलताले विश्वका एक नम्बर धनी भएको भनिन्छ । नेपालका प्रचण्डले चाँही “किल गेट्स”(मा रेर ह त्याउ) को सिद्धान्त बोकेर एशियाकै धनी बनेका छन् । उनको अकुत सम्पत्तिमा न त एक सुको लगानी परेको छ, न एक मिनेटको श्रम । क्रान्तिका नाममा जनताको रगत र शान्तिको नाममा आफ्नो आत्मा बेचेर धन जोड र राजनीतिलाई ठगीको विद्यामा अनुवाद गरेर महान् बन भन्ने विचार नै प्रचण्डपथ हो ।”