
गत वैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बजारमा रहेको एक पसलमा आगलागी भयो । आगलागीबाट सो पसलका सञ्चालक बाग्लुङको बरेङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पूर्ण बहादुर खनालका १६ वर्षीय छोरा समीर खनालको घटनास्थलमै ज्यान गयो ।
छोराको ज्यान गएको ९ दिन पछि आगलागीमा परेर घाइते भएका बाबुले पनि प्राणत्याग गरेका छन् ।
बुधबार काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा पूर्ण बहादुर खानालको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

उक्त आगलागीमा परेर खनाल र उनकी श्रीमती रूपा खनाल घाइते भएका थिए ।
घाइते दुवै जनाको सोही दिनदेखि नै काठमाडौंमा उपचार भइरहेकोमा पूर्ण बहादुरको बुधबार निधन भएको हो।
आगलागीमा परी जलेको घाउ निको हुँदै गए पनि सोही आगलागीबाट घटनास्थलमै छोराको ज्यान गएपछि विक्षिप्त बन्दै गएका खनालको हृदयघातका कारण ज्यान गएको पारिवारिक स्रोतले बताएको छ।
लकडाउनका कारण बावु आमा र छोरा गरेर तीनै जना घरमा थिए । आगलागी सुरु हुनासाथ आमाबुवा बाहिर निस्कन सफल भएपछि समीर बाहिर निस्कन नसकेको कारण उनको ज्यान गएको थियो ।
पेट्रोलबाट घरमा रहेको पसलमा आगो सल्किएर ३/४ वटा ग्यास सिलिन्डर पड्किएपछि आगो नियन्त्रणमा लिन गाह्रो भएको स्थानीय व्यापारी नरबहादुर वि.कले केटिएम दैनिकलाई बताएका थिए ।
खनाल परिवार शान्तिपुर बजारको घरमा पसल गर्थे ।
उक्त आगलागीको भिडियो पनि सार्वजनिक भएको थियो । सार्वजनिक भएको भिडियोमा मानिसहरु डरले चिच्याएको आवाज प्रष्ट सुन्न सकिन्छ भने आगलागीको कारणले खाना पकाउने ग्यास पड्केको समेत आवाज सुनिन्छ ।