
लामो रस्साकस्सीपछि नेकपाको केन्द्रीय सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ। मगंलबार बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठक डाक्ने सहमति भएको हो। अध्यादेश प्रकरणसँगै नेकपामा चुलिएको विवाद समाधानका लागि छलफल आवश्यक रहेको र त्यसका लागि बैठक बोलाउनु पर्ने माग सचिवालय सदस्यहरुले गर्दै आएका थिए।
ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भएको अनौपचारिक वार्तामा मंगलबार सचिवालय बैठक बोलाउन सहमति भएपनि सोमबार ओलीले प्रचण्डलाई मात्रै बोलाएर छलफल गरेका थिए। योसँगै आजको सचिवालय बैठकले स्थायी कमिटी बैठकको पनि मिति तय गर्ने अपेक्षा गरिएको छ। स्थायी कमिटी बैठकले नेकपामा उत्कर्षमा पुगेको विवादलाइ मथ्थर पर्ने अपेक्षा गरिएको छ । पार्टीमा २ समूह आ–आफ्नो गुट बलियो बनाउन सक्रिय छन् । प्रधानमन्त्री ओलीले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशपछि नेकपाभित्र विवाद बढेको हो । सो अध्यादेश फिर्ता भए पनि नेकपाभित्रकाे विवाद भने साम्य भएको छैन । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटी बैठक बोलाउने र त्यहाँ पार्टी र सरकारका विषयमा छलफल हुने बताएका छन् ।