
१६ वैशाख, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण अफ्रिकाका राष्ट्रपति कायरिल रामाफोसालाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै चिठी पठाएका छन् ।
उत्तर कोरियाली स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको पत्रअनुसार उनले सोमबारको मितिमा उक्त पत्र पठाएका हुन् ।
किम जोङ उनको स्वास्थ्य अवस्थाको विषयलाई लिएर विभिन्न हल्ला चलिरहेको अवस्थामा उत्तर कोरियाली सञ्चारमाध्यमले उनले पठाएको पत्र सार्वजनिक गरेको हो । अप्रिल १५ मा उनी आफ्ना हजुरबुबाको जन्म जयन्तीको कार्यक्रममा उपस्थित नभएसँगै उनको स्वास्थ्यको विषयमा विभिन्न किसिमको हल्ला चल्न शुरु भएको थियो ।
सोमबार किम जोङ उनले दक्षिण अफ्रिकी राष्ट्रपतिलाई स्वतन्त्रताको शुभकामना दिँदै दुई मुलुकबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत हुने अपेक्षा व्यक्त गरेका छन् ।
उत्तर कोरियाली सञ्चारमाध्यममा प्रकाशित अर्को समाचार अनुसार उत्तर कोरियाले वोन्सानको पर्यटकीय क्षेत्रमा निर्माणको लागि काम गर्ने कामदारलाई धन्यवाद पत्र पठाएको थियो ।
वोन्सानमा किम जोङ उन अप्रिल १३ देखि बस्दै आएको दक्षिण कोरियाले बताएको छ ।
यसअघि किम जोङको मृत्यु भइसकेको, कोमामा रहेको लगायतका समाचार आएका थिए । तर, अहिलेसम्म उत्तर कोरियाले यी समाचारको कुनै खण्डन गरेको छैन ।
स्रोत : सीएनएन