नयाँ दिल्ली । भारतले चीनबाट ल्याइएका र्यापिड डाइग्नोस्टि टेस्ट किट (आरडीटी) मा कमजोरी भेटिएपछि थप मगाउन लागेको पाँच लाख थान किटको अर्डर रद्द गरेको छ ।
भारतको अन्य विभिन्न राज्य आरडीटीको प्रयोगमा प्रतिबन्ध लगाइसकेपछि राजधानी नयाँ दिल्ली पनि आरडीटीको प्रयोगमा रोक लगाएको छ ।
आरडीटीमार्फत् कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको रगतमा रहेको एन्टिबडीको पहिचान गर्न प्रयोग गरिँदै आएको थियो । आरडीटीमार्फत कोरोना संक्रमणको भएको नतिजा थाहा पाउन ३० मिनेट लाग्ने गरेको थियो । यसले स्वास्थ्य अधिकारीहरुलाई कोरोना संक्रमणको स्तर थाहा पाउन मद्दग पुग्ने गरेको बताइएको थियो ।
यद्यपि कोरोना परीक्षणको शतप्रतिशत नतिजाका लागि आरडीटी उपयुक्त नभएको प्रति वैज्ञानिकहरुले सचेत गराउँदै आएका थिए ।
तर, चीनले भने भारतले दाबी गरेको आरडीटीमा कमजोरी भएको कुरा अस्वीकार गरेको छ । भारतस्थिति चिनियाँ राजदूतावासका प्रवक्ता जी रोङले भने, “चीनबाट पठाइएका स्वास्थ्य सामग्रीको गुणस्तरलाई प्राथमिकतामा राखिएको छ । केही व्यक्तिहरुले चिनियाँ स्वास्थ्य सामग्रीहरुलाई ‘दोषपूर्ण’ भन्नु अन्याय र गैरजिम्मेवार अभिव्यक्ति हो । पूर्वाग्रही ढंगले यस्ता कुराहरु बाहिर आएका हुन् ।”
अधिकांश राज्यले इन्डियन मेडिकल रिसर्च काउन्सिल (आईएमसीआर) उक्त किटबाट कोरोना परीक्षण अनुमति दिनुपर्ने माग गरेका थिए । उक्त मागपछि आईएमसीआरले दुईवटा चिनियाँ कम्पनीबाट ल्याइएका किटबाट मात्र परीक्षण गर्न अनुमति दिएको थियो ।
तर, परीक्षण सुरु गरिएपछि यसको विश्वसनीयतामा प्रश्न उठेका थिए । विभिन्न राज्यहरुले ५ प्रतिशतमात्र विश्वसनीय रहेको बताइएको छ । पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखाएका व्यक्तिलाईसमेत चीनबाट ल्याइएका आरडीटी किटबाट नेगेटिभ देखाउन थालेको थियो । यसले थप जोखिम बढ्ने भन्दै आईएमसीआरले आरडीटीबाट कोरोना परीक्षण नगर्न निर्देशन जारी गरेको थियो ।
सोमबार दिल्ली उच्च अदालतले यसको मूल्यको विषयलाई उठाएपछि आरडीटीको विषय थप जटिल बनेको थियो । आरडीटी खरिदमा भारतले बढी मूल्य तिरेको बताइएको थियो ।
यद्यपि रद्द गरिएको अर्डरमा भारतले एक रुपैयाँ पनि गुमाउनु नपर्ने भारतीय अधिकारीहरुले दाबी गरेका छन् । अधिकारीहरुले उक्त किटका लागि एडभान्समा भारतले पैसा नदिएको बताएका छन् । – बीबीसी