
काठमाडौं । भारतमा लकडाउन एक महिनादेखि जारी छ । आगामी वैशाख २१ गतेसम्म लकडाउनको समय बढाइएको छ । भारतमा मंगलबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या नौ सय ३४ पुगेको छ भने संक्रमित २९ हजार नाघेका छन् ।
भारतमा कोरोना संक्रमित बढेमा सबैभन्दा जोखिम नेपाललाई हो । किनभने खुला बोर्डरका कारण अवैध रूपमा नेपाल पस्ने क्रम अहिले पनि रोकिएको छैन । खासगरी तराईका जिल्ला बढी जोखिममा छन् ।
त्यसमा पनि नेपालसँगको भूभागसँग धेरै जोडिएको बिहारमा कोरोना संक्रमितको संख्या तीव्र रूपमा फैलिएको छ । विगत २४ घन्टामा बिहारमा ६९ जना नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म बिहारमा तीन सय ४६ जना कोरोना संक्रमितको संख्या बढेको छ ।
बिहारमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या दुई मात्र भए पनि तीव्र रूपमा फैलिएको संक्रमणले नेपाललाई पनि असर गर्ने तराईवासीको चिन्ता छ । त्यसैले सीमा सिल कडा रूपमा बन्द नै नियन्त्रणको मुख्य हतियार हो ।
र यो पनि हेर्नुहोस्