
रौतहट – रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जनकपुरमा कोरोना संक्रमणको पिसिआर परीक्षणमा निगेटिभ देखिएका दुई जनामा काठमाडौँमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले नागरिकलाई जानकारी दिए।
यसै गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पनि रौतहटका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्। यसबारे आधिकारिक जानकारी साँझको नियमित पत्रकार सम्मेलनमा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव कोइरालाले बताए।
रौतहटको वृन्दावन नगरपालिकाको वार्ड नम्बर ९ को भुसहा र देवाही गोनाही नगरपालिकाको वडा नम्बर १ मा गरी दुई जनामा कोरोनाको संक्रमणको पुष्टि भएको हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको दुवै जनालाई प्रदेशको निर्देशनअनुसार वीरगंज कोरोना अस्थायी अस्पतालको रुपमा बनाइएको नारायणी उपक्षेत्रीय अस्पतालमा आइसोलनमा राखी थप उपचार गर्न लगिँदैछ।
वृन्दावन ९ भुसहाका २४ वर्षीय युवक भारतबाट आएर चन्द्रपुरको क्वारेन्टाइनमा १५ दिन बसी गत वैशाख ६ गते नै घर फर्केका थिए। गत चैत २६ मा उनको स्वाब लिइएको र जनकपुरले निगेटिभ देखाएपछि कोरोन्टाइनमा १५ बसी घर फर्केका थिए।
काठमाडौँबाट पुष्टि भएपछि पूरै गाउँलाई नै सिल गरिने तयारी भएको बुझिएको छ। यसै गरी देवाही गोनाहीको धरहरीस्थित क्वारेन्टाइनमा बसेका ३५ वर्पीय युवकमा पनि कोरोना पुष्टि भएको छ।
कोरोना पुष्टि भएका युवक अहिलेसम्म क्वारेन्टाइनमा नै रहेको र वीरगंज पठाउने तयारी भइरहेको देवाही गोनाही नगरपालिकाका स्वास्थ्य संयोजक नागेन्द्रप्रसाद कुशवाहाले जानकारी गराएका छन्।
कोरोनाको पुष्टि भएका दुवै एरियालाई सील गर्ने तयारी भइरहेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले कोरोना पुष्टिबारे आधिकारिक जानकारी नआएको भए पनि निर्देशन अनुसार आन्तरिक तयारी गरिरहेको बताएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लामा थप दुई जनामा कोरोना पुष्टि भएको विषयमा आफूलाई औपचारिक जानकारी नआएको बताएका छन्।
नागरिक दैनिकबाट