
चितवन – चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कर्मचारीहरुले नै समान चोर्दै गरेको भिडियो सार्वजनिक भएको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुले रातको समयमा अस्पतालमा समान चोरी गरेको सीसीटीभी फुटेज सार्वजनिक भएको हो ।
कोरोना आशङ्का गरिएका र सङ्क्रमित बिरामीको उपचारका लागि भनेर भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालमा कार्यरत कर्मचारीले सामान रातको समयमा पोको पारेर लगेको भिडियो बाहिरिएपछि अस्पतालको व्यवस्थापनको पारदर्शीतामाथि अनेकौँ प्रश्न उठेका छन् ।
सार्वजनिक भएको भिडियोमा अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा अस्पतालको स्टोरबाट सामानहरु पोका बनाएर बाहिर निकालेको प्रस्ट देखिन्छ ।
रातको समयमा उनीहरुले अस्पतालको स्टोरबाट समान छानेर निकालेर पोका/पोका बनाएको देखिन्छ । रातको समयमा सामान उठाएको दृष्यले उनीहरु त्यही समान चोर्नकै लागि राति अबेरसम्म अस्पतालमा बसेको भन्ने आरोप लागेको छ । भिडियोमा तीन जनाले पोका पोका बनाएर भाग लगाएको देखिन्छ ।
अस्पतालभित्र रहेको पङ्खा, मास्क (मुखावरण), स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानी/छानी उठाएर प्याक गरेको भिडियोमा देखिन्छ । समान पोको पारेपछि स्टोर कोठामा बत्ती निभाएको देखिन्छ । केही समयपछि अँध्यारो कोठामा मोबाइलको उज्यालोको सहारामा तीन जना नै प्रवेश गरेर पोका बनाएर राखेको सामान तीनै जनाले उठाएर लगेको भिडियोमा देख्न सकिन्छ । पोकोसँगै अन्य समानसमेत खोजेको र लगेको भिडियोमा देखिन्छ ।
उठाएका सामान कहाँ पुगेका छन् भन्ने अहिलेसम्म खुलेको छैन । केही सामान उनीहरुले घरमा लगेको, केही सामान चितवनकै कुनै एउटा सर्जिकल हाउसलाई बेचेको आरोप छ । तर आरोप लागेकाहरुले उठाइएको सामान भरतपुर महानगरको स्वास्थ्य शाखामा लगेर राखिएको बताउँदै आएका छन् । उनीहरुले सामान चोरी गरेको स्वीकार गरेका छैनन् ।
छानबिन समिति गठन
रातको समयमा अस्पतालबाट कर्मचारीहरुले सामान बाहिर लागेको भिडियो बाहिर आएपछि यो विषयमा छलफल गर्न सोमबार बसेको कोरोना अस्पताल कार्यदलको बैठकमा लामो बहस भएको थियो । यसअघिका बैठकमा सहभागी हुने गरेका कर्मचारीहरुलाई बैठक कक्षबाटबाहिर निकाली कार्यदलका सदस्यहरुका बीचमा मात्र भएको छलफलमा भिडियोको विषयमा छानबिन हुनुपर्ने माग उठेको थियो ।
बैठकले घटनाको छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक एक जना प्रतिनिधि रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।