
रेडियो नेपालले सरकारको बचाउ गर्दै सोमबार बाबुराम भट्टराईसँग लिएको लाइभ अन्तरवार्तालाई अनलाइबाट हटाएको छ ।
रेडियो नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बोलेको अभिव्यक्तिलाई हटाएको हो ।
सोमबार बिहान ६:३० बजे लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रममा अतिथिका रूपमा जनता समाजवादी पार्टीका नेता भट्टराईसँग रेडियो नेपालले कुराकानी गरेको थियो।
उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दु:खी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ,’ कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ।
सो कार्यक्रम लाइभ प्रशारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा मागेको पनि रेडियो नेपालले बताएको छ।
रेडियो नेपालले आजको उक्त कार्यक्रम अनलाइनबाटसमेत हटाइसकेको छ। त्यहाँ हिजोसम्मका कार्यक्रम मात्रै छ।