
कोरोना भाइरसको महामारी नियन्त्रणमा आएर आर्थिक गतिविधिहरु पुन : सुचारु हुन थालेपछि पनि केही व्यवसायहरु भने सदाका लागि बन्द हुने बताइएको छ ।
महामारीको चपेटामा साना व्यवसाय मालिकहरु धेरै परेको र उनीहरु फेरि उद्यामी बन्नु पर्ने स्थिति आउने एक विपद् पुनर्बहाली समूहले बताएको हो ।‘कुनै व्यवसाय बन्द गर्नभन्दा पुन : सञ्चालन गर्न कठिन हुन्छ,’ डिजाष्टर रिकभरी इन्ष्टिच्यूट इन्टरनेशनल (डीआरआई) ले भनेको छ ।
अर्थतन्त्र पुनः खुलेपछि यो पहिलाको जस्तै भने नहुने डीआरआईका प्रमुख कार्यकारी क्लोइ डेम्रोभस्की बताउँछिन् । खर्च गर्ने पैसासँगै मानिसहरुको बानी पनि फेरिने उनको भनाइ छ ।
कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउनका बेलामा किराना पसल, पठनपाठन, कम्पनीको भेटघाट सबै अनलाइन भएको छ ।
यो अल्पकालीन प्रवृत्ति होइन । क्रेताको खरीद व्यवहार परिवर्तन भएकोले कम्पनीहरुले सोही अनुसार व्यवहार गर्नु पर्ने हुन सक्छ । व्यक्तिहरुको यस्तो व्यवहार देशभर रहेको र एवं रितले विश्वभर पुगको डेम्रोभस्कीको भनाइ छ ।
अहिले आफ्नो उपयोगिताबारे सृजनशील बन्न नसक्ने व्यवसायहरुले कोभिडपछिको वातावरणमा बाँच्न संघर्ष गर्नुपर्ने चेतावनी उनले दिएकी छिन् ।
उच्च नियमन भएको ठूला व्यवसायहरुमा आपतकालीन योजना र बलियो जोखिम व्यवस्थापन कार्यक्रमहरु हुन्छ । तर साना कम्पनीहरुमा यस्तो व्यवस्था हुँदैन ।
‘यस्ता व्यवसायहरु निरन्तर समस्यामा पर्नेछन् र कयौं व्यवसाय कहिले पनि खुल्ने छैनन्’, विगतमा पनि समूदायभर संकट देखिएको बेलामा साना व्यवसाय मालिकहरुले फेरि नयाँ व्यवसाय शुरु गर्नु परेकोतर्फ औंल्याउँदै उनले भनिन् ।
त्यसैले कम्पनीहरुले थोरै समय मात्रै खुल्ने, वा फरकफरक सिफ्टमा काम गराउने र कर्मचारीहरुबीचको सिफ्टमा परिवर्तन जस्ता उपायको लागि योजना बनाउनु पर्ने व्यवसाय विपद् विज्ञहरु बताउँछन् ।
खुद्रा विक्रेताहरुले पनि ग्राहकहरुबीच थप दूरी कायम गर्ने लगायत विविध तयारीहरु गर्नु पर्नेछ । ग्राहक र कर्मचारीहरुको सुरक्षामा ध्यान दिने, कर्मचारीका लागि मास्क, पञ्जा र नियमित रुपमा तापक्रम चेक गर्ने जस्ता व्यवस्था गर्नुपर्छ ।
सम्मेलन, ठूला कार्यक्रमहरु भने रद्द हुने वा लामो समय समय थोरै मानिसहरु मात्रै सहभागी हुने स्थिति देखिन सक्छ । शेयर्ड वर्कस्पेश र ओपन अफिस व्यवसाय पनि संकटकमा पर्न सक्ने देखिएको छ ।
विद्यालय बन्द भइरहे वा घरबाटै सिकाइलाई निरन्तरता दिइयो भने रोजगारदाताहरुले कामगर्ने अभिभावकहरुको समस्या बुझेर उनीहरुप्रति लचिलो हुन पर्नेछ । एजेन्सी