मोरङ – लामो समयदेखि अमेरिकामा बस्दै आएका विराटनगरका एक व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ ।
विराटनगर महानगरपालिका घर भइ विगत २० वर्षदेखि अमेरिकामा बस्दै आएका ती व्यक्तिको कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गएको हो ।
तीन हप्ताअगाडि सामान्य बिरामी भएका उहाँ एक हप्ता अगाडि कोलोराडोमा राज्यमा रहेको पब्लिक अस्पतालमा उपचारको लागि भर्ना हुनुभएको थियो ।
उहाँको उपचारको क्रममा ज्यान गएको उहाँका परिवारका सदस्य ले जानकारी दिएका हुन् ।
विश्वभर ४९ नेपालीले ज्यान गुमाए
विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो ।
एनआरएन स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार ९८३ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडानुसार २४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित रहेको कोडिभ १९ उच्चस्तरीय समिति एनआरएनर्का प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।