झापा, वैशाख १४ । झापाको बाह्रदशी गाउँपालिकाका–४ का ५० वर्षीय कोरोना संक्रमित तब्लिगी जमाती रहेको खुलेको छ । उनी भारतको दिल्लीको तब्लिगी जमातमा सहभागी भएर फर्किएको पुष्टि भएको छ ।
गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार संक्रमित ति पुरुष एक महिना अगाडि भारतको दिल्लीबाट घर आएका हुन् । उनी दिल्लीबाट फर्केर घरमै बसेका थिए । उनलाई पटक पटक आग्रह गर्दा समेत क्वारेन्टाइनमा जान नमानेको अध्यक्ष राजवंशीले बताए । ‘हामीले धेरै पटक आग्रह ग¥यो’ उनले भने, ‘भारतबाट आएको लामो समय पनि भएको थियो, उनले नमानेपछि हामीले घरमा बस्न भनेका थियौँ ।’ तर उनी बजारतिर पनि डुलेको खबरहरु आएको अध्यक्ष राजवंशीले बताए । संक्रमित र उनको सम्पर्कमा आएकाको बारेमा विस्तृत बुझ्ने काम पनि सुरु भएको अध्यक्ष राजवंशीले बताए ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनलाई अस्पताल पठाउने तयारी भइरहेको छ । ‘कहाँ लैजाने भन्ने बारे छलफल हुदैछ‘ उनले भने ‘हामी भद्रपुर वा विराटनगर पठाउनलाई छलफल गर्दैछौं ।’
सुरुमा उनको आरडिटी टेस्ट नेगेटिभ आएको थियो । थप शंका लागेर श्वाब परीक्षणको लागि कोसी अस्पताल विराटनगरको प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चौलागाईँले बताए ।
शुक्रबार मात्रै झापाको दमकका ६२ वर्षीय वृद्धामा कोरोना संक्रमण देखिएको थियो । हाल उनको विराटनगरको कोरोना अस्पतालमा उपचार भइरहेको छ ।