
१३ वैशाख, चितवन । कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका वडा नं. ८ का २७ वर्षीय युवक डिस्चार्ज भएका छन् । उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्दै घर फर्किनेहरुको संख्या १२ पुगेको छ ।
ती युवकको शुक्रबार कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।
डिस्चार्ज भए पनि ती युवक केही दिन भने अस्पतालमै बस्ने छन् । उनकी कोरोना संक्रमित आमाको उपचार भरतपुर अस्पतालमा नै भैरहेकाले उनले केही दिन अस्पतालमा नै बस्ने इच्छा राखेको अस्पतालले जनाएको छ ।
उनलाई अलग्गै कोठामा बस्ने व्यवस्था मिलाइएको मेसु डाक्टर तिवारीले जानकारी दिए ।
भरतपुर अस्पतालको क्याविनमा राखेर उपचार गराइरहेका युवककी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ ।
त्यसैले उनलाई अझै अस्पतालमा नै राखिने अस्पतालले जनाएको छ ।
गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा–छोराको ¥यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । भरतपुर र काठमाडौं टेकुमा गरिएको पीसीआर परीक्षणसमेत पोजेटिभ आएपछि उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।