
बर्दिया जिल्लाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदुरमा कोरोना संक्रमण देखिएको छ । भारतको बहराईच जिल्ला नानपारा जनपद निवासी २ मजदुरमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोठियाघाट क्रसरमा काम गरिरहेका उनिहरू गत बैशाख ५ गते बर्दियाबाट भारतको बहराईच गएका थिए । त्यहाँस्थित अस्पतालमा उनीहरूको परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । नेपालमा कार्यरत उनीहरू घर फर्किएपछि कोरोना पुष्टि भएको त्यहाँको प्रहरीले जनाएको छ । भारतीय प्रहरी कार्यालयले बर्दिया जिल्ला प्रहरीलाई पत्र लेख्दै नेपालबाट भारत गएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।
बैशाख ५ गतेसम्म बर्दियामै रहेका ब्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमणको जोखिम बढेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । गिरीले भारतीय नागरीकसँगै काम गर्दै आएका क्रेसर उद्योगका सबै मजदुरको स्वाव संकलन गरी परिक्षण गर्ने तयारी भईरहेको बताए ।
यसैबिच कोरोना संक्रमित व्यक्ति रहेको आशंकामा बर्दियाको ठाकुरबाबा नगरपालिका-२ को सुजनपुर र खुलपुर गाउँलाई पूर्णरुपले शिल गरिएको छ । नेपाल भारतको सीमामा पर्ने बर्दिया जिल्लासँग जोडिएको भारतको बहराइचमा बिहिबार कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि उक्त दुई गाउँ शिल गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।