
काठमाडौँ । अमेरिकाको आप्रवासी भिसा पाइसकेका सयौं डिभी विजेता नेपालीहरु कोरोनाको महामारीका कारण नेपालमा नै अड्किएका छन् ।
कोरोनाको महामारीका कारण नेपालमा लकडाउन सुरु भएका कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा उनीहरु अमेरिका जान नपाएका हुन्। मार्च महिनाको झण्डै दुईसाताको अवधिमा १ सय ८८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए।
मार्च १७ पछि भने अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसाका अन्तरवार्ताहरु स्थगित गरेको थियो।
तर अन्तरवार्ता स्थगित हुनु अगाडि मार्च महिनामा प्राथमिक डिभी विजेता १ सय १२ जना, उनीहरुका दम्पत्ति ४२ जना र २१ बर्ष नपुगेका छोराछोरीहरु ३४ जना नेपालीले भिसा प्राप्त गरेका थिए ।
फेब्रेवरीमा भने डिभी विजेता, उनीहरुका दम्पत्ति र छोराछोरीगरी ३ सय ३ जना नेपालीहरुले भिसा पाएका थिए। उनीहरुमध्येका कैयन कोरोनाको महामारीका कारण अमेरिका आउन पाएका छैनन् ।
त्यस्तै जनवरीमा ४ सय १२ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । भिसाको अवधि ६ महिनाको हुने भएकाले मार्च वा अप्रिलमा अमेरिका जाने योजना बनाएका उनीहरुमध्येका पनि नेपालमै रोकिएका छन्।
डिसेम्बरमा ४ सय ६०, नोभेम्बरमा ३ सय २५ र अक्टोबरमा ८० नेपालीले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । तीमध्येका केहीले समेत मार्चको दोश्रोसाता पछि वा अप्रिलमा अमेरिका जाने योजना बनाएका थिए । तर उनीहरु पनि नेपालमा नै रोकिएका छन्।