
बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बाग्लुङ्गकी १९ वर्षिया अंशु सापकोटाले कोरोनालाई जितेर घर फर्किएकि छिन् ।
शुक्रबार गरेको छैठौं पटकको स्वाब परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। लगातार चार वटा रिपोर्ट पोजिटिभ देखिएको उनको पाँचौं र छैठौं रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार राती अस्पतालबाट डिस्चार्ज गरिएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोख्रेलले जानकारी दिए।
साँझ ढिलोगरी मात्रै रिपोर्ट आएपछि उनलाई धौलागिरी अञ्चल अस्पतालले डिस्चार्ज गरेको हो। उनलाई रेडक्रसको एम्वुलेन्समा राखेर नेपाल प्रहरीको स्कर्टमा घर पुर्याइएको थियो।
चैत २० गते कोरोना संक्रमण देखिएकी बागलुङ नगरपालिका—३ गौडाकोटकी ६५ वर्षीया वृद्धा गत साता नै कोरोनामुक्त भएर डिस्चार्ज भएकी थिइन्। चैत ४ गते कतार एयरवेजको जहाजमा बेल्जियमबाट फर्केकी कुँडुलेकी युवतीमा चैत १५ गते कोरोना पोजेटिभ देखिएको थियो।
कोरोना संक्रमित भएर पनि आफ्नो तस्विर र परिचय सार्वजनिक गर्ने पहिलो व्यक्ति हुन अंशु सापकोटा ।
अंशु निको भएसँगै नेपालमा कोरोनाबाट निको हुनेको संङख्या ११ पुगेको छ भने बाग्लुङ्ग जिल्लामा अब कुनै पनि कोरोनाका संक्रमितहरु छैनन् ।