
काठमाडौं – कञ्चनपुरमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । भीमदत्त नगरपालिका–७ र १८ का दुई जनामा आरडीटी रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । दुवै जना सरकारी कर्मचारी रहेको स्रोतले जानकारी दियो । आरडीटी रिपोर्ट पोजेटिभ आएका दुई जनालाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ ।
पीसीआर मेसिनले गलत रिपोर्ट दिएपछि जनकपुर अस्पतालमा स्वाब परीक्षण स्थगित
प्रादेशिक अस्पताल जनकपुरधाममा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको छ । स्वाव परीक्षण गर्ने मेसिनमाथि नै शंका उत्पन्न भएपछि पीसिआर परीक्षण कार्य स्थगित गरिएको हो ।
सर्लाहीका १४ वर्षीय किशोरमा पीसीआर चेकजाँच गर्ने क्रममा मेसिनले गलत रिपोर्ट दिएको आशंका चिकित्सकले गरेका छन् । त्यसैले चेकजाच कार्य आजबाट बन्द गरिएको अस्पतालले जनाएको छ ।
जनकपुरधाममा स्वाब परीक्षण गर्दा कोरोना भाइरसको नतिजा नेगेटिभ आएका एक किशोरको रिपोर्ट बिहीबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पोजेटिभ देखाएपछि पीसीआर मेसिनको गुणस्तरीय माथि नै शंका उत्पन्न भएको हो ।
प्रादेशिक अस्पताल जनकपुरधाममा अहिलेसम्म जाँच गरेका सयभन्दा बढी स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार फरक नतिजा आएपछि ती सबै नमूना शंकाको घेरामा परेका छन् ।
चैत्र २१ गतेदेखि उक्त मेसिनबाट परीक्षण शुरू गरिएको थियो । हालसम्म ९२ वटा परीक्षण जनकपुरमा गरिएको छ । जनकपुरमा रुपैयाँ फालिएको भनिएको २ जना महिलाको आरडीटी गर्दा एक जनाको पोजिटिभ आएको थियो ।
जनकपुरको मेसिनबाट गरिएका परीक्षणको भरोसा नभएका कारण त्यहाँबाट गरिएका ९१ वटै परीक्षणको फेरि पनि स्वाब संकलन गरेर परीक्षण गरिनु आवश्यक रहेको जानकारहरु बताउँछन् ।
‘अब यहाँको मेसिनबाट गरिएको परीक्षणको कुनै भर नै नरहेको कुरा प्रमाणित भइसकेका कारण सबै जनालाई खोजेर पुनः परीक्षण गर्नु पर्छ,’ ती जानकार चिकित्सकले भने, ‘जसरी हिजोको सर्लाहीको युवालाई नेगेटिभ भनेर अस्पतालबाट डिस्चार्ज गरिएको थियो र उनी संक्रमित नै भएका कारण थप मानिसहरुमा संक्रमण फैलिएको हुन सक्ने सम्भावना रहन्छ, त्यसैगरी नेगेटिभ आएका अन्य मानिसमा पनि पोजिटिभ हुन सक्ने सम्भावना भएकाले पुनः परीक्षण गर्नु आवश्यक छ ।’