
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै देउवालाई छलफलका लागि बालुवाटार बोलाएका हुन् । चर्को आलोचनापछि सरकारले ल्याएका दुई अध्यादेश शुक्रबार (आज) फिर्ता लिएको छ भने राष्ट्रपति विद्या देवी भण्डारीले आजै ती दुवै अध्यादेशलाई खारेज गरेकी छिन् ।
अध्यादेश फिर्ता लिने निर्णयको केहीबेरमै प्रधानमन्त्रीले प्रतिपक्ष दलका प्रमुखलाई भेट्न बोलाउनुलाई विशेष रुपमा हेरिएको छ । हिजोमात्रै नेकपाका पाँच भाइहरु बामदेव गौतमको भैसिपाटीस्थित निवासमा भेला भएका थिए । नेकपामा गुटहरुको गतिविधि बढ्न थाल्दा प्रतिपक्ष दलका नेतालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले भेटवार्ता गर्नुले नेपाली राजनीतिमा नयाँ संकेत देखिन लागेको राजनैतिक विश्लेषकहरुको ठम्याइ छ ।
प्रधामन्त्री सचिवालयका फोटोग्राफर राजन काफ्लेले मिडियामा पठाएको तस्विरमा दुवै नेताहरुले मन्द मुस्कान दिइरहेका छन् ।