
कोरोना भाइरसको उपचारपछि निको भएर घर आएका युवालाई भव्य स्वागत गरिएको छ । कोरोनाको उपचारपछि धादिङबेँसी आइपुगेपछि जिल्ला अस्पताल धादिङमा फूलमाला र खादा लगाएर स्वागत गरिएको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट वैशाख ११ गते डिस्चार्ज गरिएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका–२ का ३२ वर्षीय उरबहादुर तामाङलाई धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले धादिङबेँसी ल्याउनुभएको हो । धादिङबेँसी आइपुगेपछि उहाँलाई सुरक्षित स्थानमा राखिएको छ ।
युएइबाट गत चैत ६ गते नेपाल आउनुभएका तामाङ चैत १० गते कोरोनाको लक्षण देखिएपछि आइसोलेसनमा भर्ना हुनुभएको थियो । जिल्लाको नागरिक कोरोनाको उपचारपछि जिल्लामा स्वागत गर्न पाउँदा खुशीसँगै उहाँलाई स्वागत गरेको जिल्ला अस्पतालका अध्यक्ष धमलाले बताउनुभयो ।
घर फर्किएका तामाङले शुरुमा आफूलाई मर्छुजस्तो लागेको भए पनि अस्पतालका कर्मचारी, चिकित्सक र नर्सहरुको व्यवहारले आफू छिटो निको भएको बताउनुभएको छ । उपचारपछि धादिङ आएका तामाङले स्वास्थ्यकर्मीको हौसाला र आत्मबल बलियो भएमा कोरोना सजिलै निको हुने बताउनुभयो ।