
कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा संक्रमित हुनेको संख्या २३ हजार नाघेको छ ।
बिहीबार १ हजार ६ सय ६९ थपिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या २३ हजार नाघेको हो ।
वर्ल्डोमीटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणबाट ४० जनाले ज्यान गुमाएका छन् । यो सँगै त्यहाँ कुल मृतकको संख्या ७ सय २१ पुगेको छ ।
भारतमा ५ हजार बढी व्यक्ति निको हुँदा १७ हजार ३ सयको उपचार जारी छ । हालसम्म त्यहाँ ५ लाख बढी मानिसले कोरोना परीक्षण गरिसकेका छन् ।
त्यस्तै, दक्षिण एसियाको बढी कोरोना प्रभावित देशमध्ये पाकिस्तानमा संक्रमितको संख्या ११ हजार नाघ्दा २ सय ३५ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै त्यहाँ ९ सय ८१ नयाँ संक्रमित थपिँदा २३ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, हालसम्म बंगलादेशमा ४ हजार, अफगानिस्तानमा १ हजार २ सय, श्रीलंकामा २ सय ६८, माल्दिभ्समा १०८, नेपालमा ४८ र भुटानमा ७ जनामा कोरोना पुष्टि भएको छ ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोना अहिलेसम्म विश्वका २१० मा फैलिसकेको छ ।
शुक्रबार बिहानसम्म यो भाइरसबाट २७ लाख २५ हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये ७ लाख ४५ हजार ९ सय व्यक्ति उपचारपछि निको हुँदा १ लाख ९१ हजारले ज्यान गुमाएका छन् ।