काठमाडौं – चीनमा कोरोना भाइरसको खोप बाँदरमा परीक्षण सफल भएको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् ।
चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण सफल भएको जनाएको छ । त्यसैले १६ अप्रिलदेखि मानिसमा पनि त्यसको परीक्षण सुरु गरिएको उल्लेख गरेको छ ।
साइनोभ्याकले दिएको जानकारीअनुसार आठ वटा बाँदरको श्वास नलीमा कोरोना भाइरस राखिएको थियो । त्यसपछि अलग–अलग डोजमा भ्याक्सिन दिइयो । त्यसको तीन हप्तापछि ती बाँदरहरुको पुनः जाँच गरियो । तर एउटा पनि बाँदरमा कोरोना संक्रमण देखिएन ।डाइरेक्टर मेंगले खोप बनाउन पुरानो तरिका प्रयोग गरेको बताएका छन् ।