
भोजपुरका २६ वर्षीय कोरोना संक्रमित युवक साउदीबाट आएको खुलेको छ। भोजपुर, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईका अनुसार युवक गत फागुन ३० गते साउदीबाट नेपाल आएका हुन्।
काठमाडौं उत्रिएपछि उनी सुनसरीको इटहरी र धरानस्थित नातेदारकहाँ बस्दै श्रीमती र बच्चा भएको ठाउँ चतरा पुगेका थिए। त्यसपछि उनी उदयपुरको मैनामैनीस्थित ससुराली पनि गएका थिए। ससुरालीमा केही दिन बसेर उनी चैत ११ गते भोजपुर, हतुवागढी घर पुगे।
अध्यक्ष राईका अनुसार संक्रमित युवक मोटरसाइकलबाट साथीसँग घर आएको भन्ने छ। उनले गत मंगलबार विदेशबाट आएका ११ जनमा र्यापिड टेस्ट गर्दा युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको थियो।
‘लगातार दोस्रो परीक्षण गर्दा पनि पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गर्न धरान पठायौं। त्यहाँ पनि पोजेटिभ आयो भन्ने खबर पायौं,’ राईले भने।
अहिले संक्रमित युवकलाई हतुवागढी-१ को घोरेटारस्थित आइसोलेसनमा राखिएको छ। उनलाई घर ल्याउने साथी, बुवा र भाइको भने र्यापिड टेस्ट गर्दा नेगेटिभ आएको थियो।
विदेशबाट आएर पनि संक्रमित युवक गाउँघरमा धेरै ठाउँमा घुलमिल भएको पाइएको छ। अध्यक्ष राईका अनुसार भलिबल खेलाडी समेत रहेको उनी गाउँमा भलिबल खेलेका र मलामीमा पनि सहभागी भएका थिए।
‘हामीले विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न भनेका थियौं। तर गाउँमा स-सानो कुरामा मान्छेको घुलमिल भइहाल्छ,’ अध्यक्ष राईले भने, ‘संक्रमित युवकको सम्पर्कमा आएकाहरूको खोजी गर्दैछौं।’
बिहीबार नै उदयपुरका ५५ वर्षीया महिला र सर्लाहीका १४ वर्षीय किशोरमा पनि कोरोना पोजेटिभ देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमित संख्या ४८ पुगेको छ जसमा १० जना निको भएर घर फर्किसकेका छन्।