
एक महिना अघि दुहबीबाट फर्किएका झापा दमकका एक जनामा आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ ।
कोरोना भाइरस कोभिड- १९ को रोकथाम तथा नियन्त्रणका लागि आरडीटी परीक्षण गर्ने क्रममा बिहीबार गरिएको परीक्षणमा एक जनाको पोजेटिभ नतिजा आएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन ।
आरडीटीमा पोजेटिभ देखिएका ती व्यक्तिको स्वाब परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
शरीरमा भाइरसको जीवाणु सक्रिय वा निष्क्रिय रहेको बारेमा परीक्षण गर्दा ती व्यक्तिमा सक्रिय अर्थात् पोजेटिभ देखिएको हो ।
दमकमा ७ जनामा आरडीटी परीक्षण गरिएको मध्ये एक जनामा पोजेटिभ र अन्य ६ जनामा नेगेटिभ देखिएको हो । दमकका विभिन्न क्वारेन्टाइनमा ४१ जना रहेका छन् ।
क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र आरडीटीमा पोजेटिभ देखिएका ती युवालाई दमक अस्पतालमा रहेको आईसुलेसन राखिएको र उनको समेत स्वास्थ्य अवस्था सामान्य रहेको दमक नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले जानकारी दिए ।