
काठमाडौं । पार्टीमा छलफल नै नगरी दुई अध्यादेश ल्याएपछि चर्को आलोचना खेपेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको छ।
प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न आज (बिहीबार) साँझ शितल निवास पुग्नुभएको हो।
प्रधानमन्त्री ओली शीतलनिवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि आजै बिहान प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेतासँग अध्यादेशबारे छलफल गर्नुभएको थियो। उक्त छलफलमा ओलीले आफू अध्यादेश फिर्ता गर्न तयार भएको बताउनुभएको थियो।
राष्ट्रपतिका सञ्चार विज्ञ भेषराज दाहालले राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवास आउनु सामान्य भएको बताउनुभाये। उहाँले सरकारका कामबारे रिपोर्टिङका क्रममा यस्ता भेटघाट भइरहने बताउनुभयो।
पछिल्लो विकसित घटनाक्रमलाई लिएर कसरी अघि बढ्ने भनेर नेकपा अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु पनि आपसी छलफलमा जुटेको बताइएको छ ।