
काठमाडौं- जनता समाजवादी पार्टी दल दर्ता गर्न अहिले निर्वाचन आयोग पुगेकाे छ ।
राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति पार्टी एकताको सहमति भएको थियो । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै आफ्नो पार्टीलाई सम्भावित फुटबाट जोगाउन दुई दलबीच एकता भएको हो ।
नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, मिथिलेस कुमार, फणिन्द्र देवकोटालगायत निर्वाचन आयोग पुगिसकेका छन् ।नेताहरुले पार्टी एकताबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको र पार्टी दर्ता प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । अन्य नेताहरु पनि आयोग आउने क्रम जारी रहेको उनीहरुले बताए ।