काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने भएको छ । प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतमा उनलाई उपस्थित गराएर म्याद थप माग गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री, मन्त्रीलगायत अन्य संस्थाविरुद्ध गाली गरेको आरोपमा उपाध्यायलाई साइबर ब्यूरोको टोलीले बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको थियो ।
साइबर ब्यूरोका एक प्रहरी अधिकारीका अनुसार उपाध्यायमाथि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप छ ।
उपाध्यायविरुद्ध ३ ठाउँबाट उजुरी आएपछि अदालतबाट पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिइएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए ।
सामाजिक सञ्जाल फेसबुकमा उनले पेटभित्र भएको ४ वटा किड्नीको कमाल राजनीतिमा देखिदैछ भनेर लेखेका थिए । उनको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिष्ठामा आँच आएको कारणले उनलाई गिरफ्तार गरिएको हुनसक्ने जानकारहरु बताउँछन् । तर अहिले उपाध्यायले लेखेको उक्त पोष्ट भने हटाइएको छ ।
उपाध्यायले सामाजिक सञ्जालमा वेलावेला विवादित भनाइहरु समेत राख्दै आएका छन् । केहिदिन अघिमात्रै उनले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हटाएर उनको ठाउँमा डाक्टर शेर बहादुर पुनलाई नियुक्त गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्तिलाई सञ्चारमाध्यमहरुले प्रमुखताका साथ सम्प्रेषण गरेका थिए ।