पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् ।
पूर्वसचिव उपाध्यायलाई बुधबार बेलुका काठमाडौं स्थित घरबाटै पक्राउ गरिएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । प्रहरी स्रोतका अनुसार उनी राजधानीको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा उनले पेटभित्र भएको ४ वटा किड्नीको कमाल राजनीतिमा देखिदैछ भनेर लेखेका थिए । उनको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिष्ठामा आँच आएको कारणले उनलाई गिरफ्तार गरिएको हुनसक्ने जानकारहरु बताउँछन् । तर अहिले उपाध्यायले लेखेको उक्त पोष्ट भने हटाइएको छ ।
उपाध्यायले सामाजिक सञ्जालमा वेलावेला विवादित भनाइहरु समेत राख्दै आएका छन् । केहिदिन अघिमात्रै उनले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हटाएर उनको ठाउँमा डाक्टर शेर बहादुर पुनलाई नियुक्त गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्तिलाई सञ्चारमाध्यमहरुले प्रमुखताका साथ सम्प्रेषण गरेका थिए ।