
काठमाण्डौ – काठमाण्डौ छाड्न जडिबुटी चोकमा भेला भएका मानिसहरुलाई प्रहरीले रोकेको छ ।
कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण को रोकथामका लागि गरिएको लकडाउनका कारण काठमाण्डौमा अलपत्र परेका मानिसहरुलाई केही पालिकाहरुले लैजान थालेका थिए ।
बुधबार पनि जडिबुटीमा जम्मा भएका मानिसहरुलाई प्रहरीले भने रोकेको हो । मंगलबार राति रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेपछि प्रहरीले बस सञ्चालन गर्न नदिएको हो ।
तर पनि मानिसहरु घर जाने भन्दै सयौंको सङ्ख्यामा जडिबुटी चोकमा भेला भएका थिए । तर प्रहरीले माथिको आदेश भन्दै बस सञ्चालन नहुने र आ-आफ्नो बासस्थानमा फर्कन आग्रह गरेको थियो ।
लकडाउन लागू भएको एक महिना हुँदा पनि खुल्ने सम्भावना नदेखिएपछि दैनिकरुपमा श्रम गरेर खानुपर्नेहरुलाई समस्या हुँदै आएको छ । जसका कारण पनि काठमाण्डौबाट मानिसहरु हिंडेरै घर जाने क्रम बढेको थियो ।
तर केही दिनयता जनप्रतिनिधि र पालिकाले गाडीको व्यवस्था गरी मानिसहरुलाई गन्तव्यसम्म लैजाँदै आएका थिए । काठमाण्डौका विभिन्न ठाउँबाट आएका व्यक्तिहरुले प्रहरीले समयमै खबर नगर्दा दुःख पाएको बताएका छन् ।
काठमाण्डौको थानकोट, कलंकी, बल्खु, बालाजु, कपन लगायतका ठाउँहरु र ललितपुरको विभिन्न ठाउँबाट बस पाउने आशामा मानिसहरु हिंडेरै जडिबुटी पुगेका थिए ।