
सुनसरी — बुधबार बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा कोभिड १९ (कोरोना) पुष्टि भएका तीनमध्ये एकजना भारतीय नागरिक रहेको खुलेको छ । प्रतिष्ठान स्रोतका अनुसार २४ वर्षिय भारतीय नागरिक दिल्लीका वासिन्दा हुन् ।
अन्य दुई ६० र ७२ वर्षियको ठेगाना विराटनगर उल्लेख गरिएको छ । तीनै जना प्रतिष्ठानको आइसोलेसनमा थिए ।
प्रतिष्ठानको माईक्रोबाएलोजी विभागका मोलीकुलर पिसिआर विशेषज्ञ नारायण भट्टराईका अनुसार ३९ जनाको थ्रोटस्वाब बुधबार प्रयोगशालामा परीक्षण गरिएको थियो । उनीहरु तीनैजना उदयपुरको भुल्केस्थित मस्जिदमा बसिरहेका थिए ।
प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साहका अनुसार त्यही मस्जिदका अन्यमा संक्रमण देखिएपछि तीनैजना पुरुषलाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा ल्याइएको थियो । तीन दिनअघि उनीहरुलाई प्रतिष्ठानको आइसोलेसनमा ल्याइएको हो ।
नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४५ पुगेको छ । बुधबार ३ जना संक्रमित थपिएपछि संक्रमित संख्या ४५ पुगेको हो ।
संक्रमितमध्ये आज थपिएका ३ जना उदयपुरमा यसअघि भेटिएका १३ जना संक्रमितको संसर्गमा आएकाहरु भएको बुझिएको छ । उनीहरु भुल्केस्थित नुरे मस्जिदमा यसअघि संक्रमितसँग सम्बन्धित हुन् ।
स्वास्थ्य मन्त्रालयले तीनजना संक्रमितको उमेर र लिङ्गमात्र खुलाएको छ ।