
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका संघीय सांसदहरूलाई बुधबार दिउँसो ब्रिफिङ गरेका छन्। दुई अध्यक्षले प्रदेश-प्रदेशका सांसदलाई फरक-फरक समयमा बोलाएर विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन्।
छलफलमा हालै जारी भएका दुई अध्यादेश, कोरोना भाइरसविरूद्ध जारी लकडाउन र आगामी कार्यभार लगायतका विषयमा सांसदहरूलाई स्पष्ट पारिएको छ । ओलीले कोरोना भाइरसको संक्रमण रोक्नका लागि सबै एक ढिक्का भएर लाग्नुपर्ने समेत बताएका छन्। उनले संक्रमण रोक्नका लागि सरकारले गरेका प्रयासहरुको बचाउ गर्दै एक भएर लाग्न निर्देशन दिए। ओलीले भारतसँगको सीमा नाका तत्काल नखुल्ने र लक डाउन लम्बिन सक्ने बताए।
दुई दिनअघि सरकारले अकस्मात पार्टी विभाजनको व्यवस्था खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि नेकपाभित्र राजनीतिक तरंग आएको थियो।
त्यस्तै ओलीले सरकारले सोमबार ल्याएको दुईवटा अध्यादेशबारे टिका टिप्पणी नगर्न निर्देशन दिएका छन्।
बुधबार सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरुसँग छलफल गर्दै ओलीले सरकारले अध्यादेश आवश्यक भएरै ल्याएको जिकिर गर्दै अनावश्यक टिका टिप्पणीमा नलाग्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका हुन्। ब्रिफिङमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भए पनि उनले केही नबोली सुनेर मात्र बसेको सहभागी एक सांसदले जानकारी दिए।