
ताप्लेजुङ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले केहि प्रावधान खुकुलो भएपनि तत्काल लकडाउन अन्त्य नहुने संकेत गरेका छन् । उनले आउँदो बजेट पूँजीगत खर्चतर्फ उत्साहित नहुने र बजेटको अधिकांश हिस्सा कोरोना नियन्त्रण तथा व्यवस्थापनका कार्यमा खर्च हुने भएकोले अत्यावश्कीय योजना बाहेक पूरानै योजनाको निरन्तरतामा केन्द्रित हुने बताए ।गृह जिल्ला ताप्लेजुङका सञ्चारकर्मीसंग बुधबार बिहान भिडियो कन्फरेन्समार्फत सम्बाद गर्दै मन्त्री भट्टराईले कोरोना नियन्त्रणका लागि नेपालको मात्र परिस्थति भरपुर नहुने भएकोले सीमावर्ती छिमेकी मुलुक भारत र चीनको अवस्थाले समेत लकडाउनको निरन्तरतामा भूमिका खेल्ने प्रष्ट्याए ।
‘सीमावर्ती देश बिशेष गरी भारतमा चित्तबुझ्दो ढंगले कोरोना नियन्त्रण तथा व्यवस्थापन नभईञ्जेलसम्म तत्काल पूरापूर लकडाउन खुल्ने र सीमा नाकामा आवतजावत सुरु हुने अवस्था छैन’मन्त्री भट्टराईले भने ।कोरोनाले विश्वब्यापी प्रभाव जमाईरहेको र यस बिरुद्धको मुख्य जीत नै लकडाउनबाट प्राप्त हुने भएकोले यसकार्यमा देशका सबै नागरिकको साथ र सहयोग रहेको उनको भनाई थियो । नेपालमा कोरोनाबाट कसैको ज्यान नदिने अवस्थाको सृजनाका लागि सरकारको अधिकतम् प्रयास र पहल जारी रहेको मन्त्री भट्टराईले बताए ।
उनले चालू वर्षमा कम्तिमा १ लाख बढीको र्यापिड डाईग्नोस्टिक टेष्ट(आरडीटी) किटमार्फत परीक्षण गर्ने र परीक्षण तथा उपचारको दाहेरा बढाउने कार्यमा सरकारले धमाधम प्रकृया चालिरहेको समेत बताए ।कोरोना संक्रमणका कारण नेपालमा कसैको ज्यान नगुमोस् र थप नफैलियोस् भन्ने सरकारको चाहनालाई पूरा गर्ने सबैभन्दा उत्तम बिधि लकडाउन भएकोले यसको पूर्ण पालनाका लागि उनले आम नागरिकसंग आग्रह गरे । ‘हामी एकजनाको मृत्युवरण बेगर कोरोनालाई जितेर बिश्वका अघि नेपाल साँच्चै आत्मबिश्वासी र साहसी भएको देखाउन चाहन्छौं’भट्टराईले भने ।
सरकारले कोरोना प्रभावबाट मुलुकको अर्थतन्त्रमा परिरहेको प्रभावको सुक्ष्म अध्ययन गरिरहेकोले आउँदो बजेट र नीति तथा कार्यक्रमको सन्दर्भमा प्रत्येक नागरिक आफैं आत्मनिर्भर हुने उपाय खोजी रहेको समेत उनले बताए । सरकार श्रमिक, किसान,व्यवसायी र आम नागरिकको हितको पक्षमा रहेको भन्दै मन्त्री भट्टराईले सामाजिक सुरक्षा कोषमार्फत श्रमिकहरुको रोजीरोटी व्यवस्थापन गर्न, अर्थतन्त्रलाई पुर्नस्थापित गर्न, ब्याजदर घटाउने र सस्तो दरमा ऋण प्रवाह हुने कार्यको थालनीका लागि सरकारले गृहकार्य सुरु गरिसकेको समेत बताए ।