बाँकेको नेपाल–भारत सीमावर्ती क्षेत्रमा अलपत्र यात्रुसँग रकम लिई लुकीछिपी आवागमन गराउने एक जना पक्राउ परेका छन् । मुख्य नाका बन्द भएपछि ग्रामीण क्षेत्रमा रहेका छोटी नाकाबाट साइकलमा राखेर अलपत्र भारतीयसँग रु पाँच सय लिएर भारत पु¥याउने र फर्किँदा नेपाल आउने नागरिकलाई लुकिछिपी आवागमन गराउने समूहका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा जारी बन्दाबन्दीका कारण नाका बन्द भएका बेलामा नाकामा अलपत्र व्यक्तिलाई लक्ष्य गरेर पाँच जनाले यस्तो धन्दा गरेको खुलेको छ । त्यसमध्ये एक जनालाई पक्राउ गरिएको हो ।
ती व्यक्तिले नेपालबाट तीन जनालाई भारत पु¥याएको खुलेको छ । चार मुख्य व्यक्ति फरार रहेकाले धेरै जानकारी हुन नसकेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।
प्रहरीले अन्य चार जनाको खोजी गरिरहेको छ । सीमा क्षेत्रमा नागरिक लुकिछिपी आवतजावत भएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न र भारतीय सीमाबाट हुन सक्ने आवतजावत निस्तेज पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा फौज परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।
त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहराको जंगलमा ११ जना भारतीय नागरिक भेटिएका छन् । लक डाउन भएसँगै सुनसरीको तरहराको चारकोशे झाडीमा फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । फेला परेका विदेशी नागरिक सबै भारतका मुस्लिम समुदायका हुन् ।
उनीहरू भोजपुरमा काम गर्नका लागि आएको र लक डाउनले जान नपाए पछि तरहराको खोटो कम्पनी छेउमा बस्दै आएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । उनीहरु करिब एक महिनादेखि त्यही बस्दै आएका डिएसपी भण्डारीले बताउनुभयो ।
उनीहरुलाई एम्बुलेन्समा राखेर इटहरी अस्पताल लगिएको भण्डारीले बताउनुभयो । उनीहरुको द्रुत परीक्षण गरी क्वारेन्टाईनमा राखिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनीहरु तरहरामा बस्दै आएको स्थानीयहरुले बताएका छन् ।
केही दिन अघि पनि मोरङ र सुनसरीको मस्जिदमा फेला परेका विदेशी नागरिकलाई दुवै जिल्लाको प्रशासनले ज्वरो र स्वाब जाँच गराएर होम क्वारेन्टाइनमा राखेको छ । भारतीय नागरिकहरु लुकिछिपी नेपाल भित्रन सक्ने भन्दै प्रहरीले बोर्डर क्षेत्रमा कडाई गरिरहेको जनाएको छ ।