
यूएईबाट आएका सल्यानका एक युवामा र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) मा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।
सोमबार शारदा नगरपालिकाको वडा नं. १ श्रीनगरमा परीक्षण गरिएका ३२ वर्षीय ती युवाको रिपोर्ट कोरोना एन्टिबडी पोजेटिभ देखिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले चैबाङजिउला निवासी ती युवा गत चैत ६ गते यूएईबाट घर आएको भन्ने खुलेको उनले जानकारी दिए।
ती युवालाई जिल्ला अस्पताल खलंगाको आइसोलेसनमा राखिएको छ। ती युवाका परिवारका अन्य सदस्यलाई र्यापिड टेस्ट गर्दा भने रिपोर्ट नेगेटिभ देखिएको बुढाले जानकारी दिए।
जिल्लाका सबै स्थानीय तहमा हालसालै भारत तथा तेस्रो मुलुकबाट आएकाहरूको र्यापिड टेस्ट गर्ने क्रममा सोमबार ती युवाको पनि टेस्ट गरिएको थियो ।
सोमबार मात्रै बागचौर नगरपालिकामा ७६ जना र शारदा नगरपालिकामा ७९ जनाको आरडिटी परीक्षण भएको थियो। बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख बुढाले बताए।
एन्टिबडी पोजेटिभ आएका युवाको स्वाब संकलन गरेर मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रयोगशालामा थप परीक्षणको लागि पठाइएको छ।