
विष्णुप्रसाद पोखरेल । ९ बैशाख , झापा (दमक) : कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको यस्तो अवस्थामा झापा दमकका केही ब्यापारीहरुले कमाउ धन्दामा लागेको पाईएको छ । दमकमा पुरानो दालको स्टक पनि अहिले नयाँ बढेको मूल्यलाई आधार बनाएर पनि विक्री गरेको पाईएको छ ।
लकडान अघि ७४ रुपैँया देखि बढिमा ८० रुपैँयामा विक्रि वितरण भैरहेको मुसुरी दाल अहिले १ सय २५ रुपैँयासम्म बिक्रि गरेको पाईएको छ । सोमबार बजार अनुगमन गर्दौ यस्तो पाईएको हो । जनप्रतिनिधिको होलसेल पसलदेखि लिएर सामान्य किराना पसलसम्मले मनपरी मूल्य लिएको पाईएको छ, अनुगमनमा संलग्न एक सदस्यले बताए ।
दमक बजार अनुगमन समितिका संयोजक भीम पौड्यालका अनुसार आजमात्र आफुले ९५ रुपिया प्रतिकेजी देखि लिएर १ सय २० रुपियासम्मको दाल बेचेको प्रमाण तयार पारिएको छ । अनुगमनमा जाँदा १ सय ४० रुपियामा समेत विक्री गरेको पनि देखियो र सुनियो, उनले भने ।
बजारमा मूल्य सूचि टाँस नगर्ने र एकै ठाँउमा रहेका पसलमा पनि फरक मूल्य रहेको पाईएको पनि उहाँले जनाउनु भयो । लाइनै रहेका तीनवटा पसलमा सोध्दा १ सय १० देखि १ सय ३० रुपियासम्म मूल्य रहेको पाईयो, उनले भने । एउटा पसलमा त १ सय ४० रुपियामा विक्री गरेको पनि सुनियो, उनको भनाई छ ।
यता दमक उद्योग बाणिज्य सघले अनुगमनको स्वागत गर्दै कालोबजारी गर्ने र बढि मूल्य लिनेलाई कार्वाही गर्दा फरक नपर्ने बताएको छ । संघका अध्यक्ष गोकुल श्रेष्ठले यस बिषयमा ब्यवसायीलाई बारम्बार सचेत गराएको जनाए । कालोबजारी भएको बिषयमा बाणिज्य संघका अधिकाँश पदाधिकारी तथा सदस्यहरु समेत जानकार रहेकाछन् ।