कोरोनाको सङ्क्रमणले २३ दिनसम्म बेलायतको १ अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा रहेकी नर्स उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ ।
उमालाई कोरोनाको सङ्क्रमण देखिएपछि साउथ इष्ट ससेक्सको कन्क्वस्ट अस्पतालमा भर्ना गरिएको थियो ।
सो अस्पतालमा कार्यरत १ सय बढी सहकर्मीले उमालाई सामान्य शय्यामा सार्दा ताली बजाएर सम्मान प्रकट गरेका थिए ।
उमाले भनिन्, ‘म सघन उपचार कक्षमा हुँदा मेरो उपचारमा संलग्न सबैलाई धन्यवाद दिने शब्दसमेत छैन । उनीहरूको योगदान अकल्पनीय छ जसले मलाई बचाए । म अझै अस्पतालमा छु । विस्तारै विस्तारै ठीक हुँदैछु ।’
‘सघन उपचारमा कार्यरत सबै कर्मचारी र सिङगो नर्स समूहको कडा परिश्रमले उमालाई यो कक्षबाट निकाल्न सफल भयौँ’ सघन उपचार कक्षका प्रमुख केट् मुरेले भने, ‘उमालाई दुई हप्ताभन्दा बढी आइसीयूमा राख्नुपरेका कारण यो बुझ्नुस् कि उनलाई कोरोनाले कति गालेको रहेछ ।’
उनले अगाडि भने, ‘तर अकल्पनीय रूपमा आएको परिवर्तनले आज यहाँसम्म आइपुगिन् । हाम्रो गौरवको एउटा अंश हुन उमा पनि । यो कठिन घडीमा उनमा आएको यो परिवर्तन हामी सबैका लागि उदाहरणीय र हौसलापूर्ण कार्य भएको छ र हामी सबैको प्रर्थना छ उनलाई छिट्टै निको हुनेछ ।’ आइतबार मात्रै १ नेपाली जोडी स्वस्थ भएर घर फर्किको छ । रासस