
धादिङ । धादिङको थाक्रे गाउँपालिका ३, बालुवाखर्कमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
हावाहुरी र असिनासँगै सोमबार साँझ चट्याङ पर्दा ५० वर्षीय सानुमान तामाङ र २४ वर्षीय सागर अर्यालको मृत्यु भएको हो ।
गाउँमा रहेको बिजुलीको ट्रान्सफरमरमा चट्याङ परेपछि लेक मल्डुङ, बेसी मल्डुङ र बालुवाखर्कको सबैको घरमा विद्युतको हाइ भोल्टेज आएको थियो ।
घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न र बत्ती निभाउन खोज्दा करेन्ट लागेर उनीहरु घाईते भएका थिए ।
सानुमान तामाङ र सागर अर्याललाई उपचारका लागि काठमाण्डौ लाँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष अमित घलेले बताएका छन् ।
गम्भीर घाइते अर्का एक जनाको काठमाण्डौमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घाइते भएका अन्य चार महिला र दुई पुरुषको भुुमेस्थानमा रहेको स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।