
अहिले काठमाडौं उपत्यका लगायत मुलुकका अधिकांश स्थानमा मेघगर्जन सहित वर्षा भइरहेको छ । मुलुकका केही ठाउँमा हावाहुरी, चट्याङ र असिना सहित पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा मौसमी प्रणाली धेरै सक्रिय रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । यो क्रम अझै केहीबेर सम्म चल्ने मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । मौसमविद् पोखरेलका अनुसार अहिले प्रिमनसुन गतिविधि सक्रिय छ । त्यसमा पनि स्थानीय वायु र पश्चिमी निम्न चापीय प्रणाली मिसिएको छ ।
साथै बंगालको खाडीबाट निस्किएको जलवाष्पयुक्त हावा आइरहेकाले पनि नेपालमा पानी परिरहेको छ । स्थानीय वायु र पश्विमी वायुको प्रभाव रहेकाले अहिले मुलुकका अधिकांश स्थानमा सामान्य बदली रही मेघ गर्जन, चट्याङ र हावाहुरी सहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।