
गुल्मी । आज (सोमबार) बिहान ११ बजेर ४५ मिनेटमा गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बसपार्कमा रहेको एक घरमा लागेको आगलागीको दर्दनाथ भिडियो सार्वजनिक भएको छ ।
सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको भिडियोमा मानिसहरु डरले चिच्याएको आवाज प्रष्ट सुन्न सकिन्छ भने आगलागीको कारणले खाना पकाउने ग्यास पड्केको समेत आवाज सुनिन्छ ।
उक्त आगलागीका कारण एक १४ वर्षिय बालकको ज्यान समेत गएको छ ।
चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी हुँदा उनका १६ वर्षीय छोरा समीर खनालको ज्यान गएको हो ।
खनाल र उनकी श्रीमती रुपा आगलागीमा परेर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा रिफर गरिएको गाउँपालिका अध्यक्ष खत्रीले जानकारी दिए ।
लकडाउनका कारण तीनै जना घरमा थिए । आगलागी सुरु हुनासाथ आमाबुवा बाहिर निस्कन सफल भएपछि समीर बाहिर निस्कन नसकेको कारण उनको ज्यान गएको हो । आगलागी सुरु हुनासाथ बुवाआमा बाहिर निस्के तर छोरा सकेनन्, उनको ज्यान गयो’ खत्रीले भने ।
पेट्रोलबाट घरमा रहेको पसलमा आगो सल्किएर ३/४ वटा ग्यास सिलिन्डर पड्किएपछि आगो नियन्त्रणमा लिन गाह्रो भएको स्थानीय व्यापारी नरबहादुर वि.कले बताए ।
खनाल परिवार शान्तिपुर बजारको घरमा पसल गर्थे । उनी बाग्लुङको बरेङ्ग गाउँपालिका ३ का वडध्य्क्ष समेत रहेको खत्रीले जानकारी दिए । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ ।