
सल्यान । सल्यानमा कोरोना भाइरसको द्रुत परीक्षणका क्रममा एक जना युवामा पोजेटिभ देखिएको छ ।
शारदा नगरपालिका १ शीतलपाटी शिवजन माध्यमिक विद्यालयमा गरिएको आरडिटी परीक्षणमा ती युवाको रिपोर्ट पोजिटीभ आएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।
ती युवालाई अहिले जिल्ला अस्पताल सल्यानको आइसोलेसनमा राखिएको छ । उनी गत चैत ६ गते दुबईबाट आएका थिए ।
के हो आरडीटी ?
एन्टीबडी परीक्षणको एउटा विधि आरडीटी हो । यो अहिले नेपालमा धेरै प्रयोग भएको छ । यसको परीक्षण रगतको नमुनाबाट हुन्छ । र्यापिड किटबाट परीक्षण गर्दा प्रयोगशाला चाहिँदैन । ठूलो विज्ञता पनि आवश्यक पर्दैन । थोरै तालिम दिए पर्याप्त हुन्छ’, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झा भन्नुहुन्छ, ‘यो विधिबाट फिल्डमै १५ मिनेटको अवधिमा नतिजा हेर्न सकिन्छ ।’ अमेरिका, युरोप, अस्ट्रेलिया र भारतले पनि आरडीटी विधिबाट कोरोना परीक्षण गरिरहेका छन् ।
चिकित्सकका अनुसार प्रयोगशाला परीक्षण वा अन्य परीक्षण आफैँमा पूर्ण हुँदैन । बिरामीको अवस्था अन्य परीक्षणसँग मिलाएर रिपोर्टको नतिजा विश्लेषण गर्नुपर्ने हुन्छ । धेरैभन्दा धेरै मानिसको नमुना परीक्षण एकसाथ गर्नुपर्दा यो विधि अवलम्बन गरिन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म ७५ जिल्लामा आरडीटी विधिबाट परीक्षण सुरु भएको छ भने पीसीआर विधिबाट सातै प्रदेशका विभिन्न १४ अस्पतालबाट परीक्षण भइरहेको छ ।
सरकारले विभिन्न देशबाट नेपाल आएका, क्वरेण्टीनमा बसिरहेका व्यक्तिमा कोरोना भए नभएको परीक्षण गर्न आरडीटी विधिलाई प्राथमिकता दिएको छ । सबै जिल्लामा यो विधिबाट परीक्षण सुरु भएको छ ।
आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए पनि पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिनसक्ने भएकोले आरडीटीबाट कोरोना देखिनेबित्तिकै नआत्तिन तर सावधानी भने अपनाउन प्रवक्ता देवकोटाको आग्रह छ । पीसीआर परीक्षणमा पनि कोरोना पोजिटिभ भेटिएपछि मात्रै पुष्टि भएको मानिने मन्त्रालयले जनाएको छ ।