
काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोनाका कारण धर्मराएको पर्यटन क्षेत्र उकास्न नयाँ नयाँ रणनीति बनाउनुपर्ने बताउनुभएको छ ।
उहाँले कोरोनाको महामारी कम भए पनि अबको केही समय विश्वभरका पर्यटक ठूलो संख्यामा घुम्न नसक्ने भन्दै आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने बताउनुभयो । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले गरेको भिडियो कन्फ्रेन्समा मन्त्री भट्टराईले सरकारले धेरै योजना बनाएको र त्यसमध्ये एउटा सबै सरकारी कर्मचारीलाई बिएर घुम्न पठाउने र आन्तरिक पर्यटन बलियो बनाएर आर्थिक चहलपहल बनाउने पनि रहेको बताउनुभयो ।
‘तत्कालै अन्तर्राष्ट्रिय पर्यटकको बाढी नै नआउन सक्छ, त्यो अवस्थामा हामीले आन्तरिक पर्यटनमा जोड दिँदै, हामीले पर्यटन बिदा दिने सोच बनाएका छौं, आर्मी, पुलिस, शिक्षक, कर्मचारी, र सबै संगठित र असंगठित क्षेत्रका कर्मचारीलाई एक महिना बिदा दिएमा केही चहलपहल बढाउन सक्छौं’, मन्त्री भट्टराईले भन्नुभयो ।
मन्त्री भट्टराईले होटल लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत बताउनुभयो । उहाँका अनुसार ती जनशक्तिलाई हिमाल सरसफाई, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिनेछ ।
सन् २०१९ मा पर्यटन क्षेत्रबाट डलर आम्दानी ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सवै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडि बढ्ने समेत बताउनुभयो ।