
कोरोना भाइरसको संक्रमण पुष्टी भएका उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका १३ जना नेपालमै संक्रमित भएको पाइएको छ ।
संक्रमण भएका १३ जनामध्ये ११ भारतको दिल्लीका र २ जना विराटनगर १७ का छन् । उनीहरुसँगै बसेका थप एक जना भारतीय नागरिक र विराटनगर १७ का २ जना गरी ३ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी छ । संक्रमित १३ लाई विराटनगरस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रमा र अन्य तीन जनालाई टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएका १३ जनामा हालसम्म कुनै किसिमको लक्ष्ण देखिएको छैन । कोशी अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट डा. संगिता मिश्राका अनुसार संक्रमितहरुको स्वास्थ्य अबस्था सामान्य छ । ‘उनीहरुमा अहिलेसम्म रोगको कुनै किसिमको लक्षण देखिएको छैन,’ उहाँले भन्नुभयो, ‘संक्रमितहरुको यात्रा इतिहास र स्वास्थ्य अबस्था हेर्दा १५ दिन यता नै संक्रमित भएको हुन सक्ने देखिन्छ ।’ कोरोनाको संक्रमण भएको १४ दिनसम्ममा लक्षण देखिने गरेको मिश्राको भनाई छ ।
संक्रमित भारतीय जमात (इस्लाम धर्म गुरु) मंसिर २५ गते भारतको दिल्लीबाट विराटनगर १७ रानीस्थित मस्जिदमा आएको ट्राभल हिस्ट्रिबाट देखिएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनुभयो । ‘रानी मस्जिदमा भारतीयहरु माघ १ गतेसम्म बसेको थियो,’ उहाँले भन्नुभयो, ‘रानीबाट विराटनगर ८ स्थित बलुवाही मस्जिदमा एक हप्ता बसेर सुनसरीतर्फ लागेका थिए ।’
विराटनगरबाट हिडेपछि उनीहरुसँग रानीका पनि ४ जनासँगै गएका थिए । उनीहरु सुनसरीको दुहबी मस्जिदमा ३, छिटहामा २०, भोक्राहामा ७ र भण्टाबारी मस्जिदमा ८ दिन बसेको अधिकारीले बताउनुभायो । भण्टाबारीबाट सप्तरीको बरमझियामा ७ दिन, चर्कियामा १० र फत्तेपुर मस्जिदमा ३ दिन बसेको ट्राभल हिस्ट्रि रहेको प्रहरीको भनाई छ । फत्तेपुरबाट उदयपुरको चौदण्डी नगरपालिका ५ स्थित सिवाही मस्जिदमा ७ दिन बसेर त्रियुगा नगरपालिकास्थित भुल्के मस्जिदमा ३५ दिनदेखि उनीहरु बस्दै आएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
उनीहरुको ट्राभल हिस्ट्रिका आधारमा संक्रमण नेपालमै भएको प्रष्ट रहेको अधिकारीको दाबी छ । ‘संक्रमण देखिए पनि उनीहरुमा कोरोनाको हालसम्म कुनै लक्ष्ण देखिएको छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले अहिले ट्राभल हिस्ट्रिको बारेमा सम्बन्धित मस्जिदहरुमा समेत भेरिफाइ भइरहेको र कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको छ ।’ उनीहरुको ट्राभल हिस्ट्रि पटक पटक जाँच गरिएकाले मान्नै पर्ने अवस्था समेत रहेको अधिकारीले बताउनुभयो ।
अधिकारीले विराटनगरस्थित २५ वटै मस्जिदमा नवाज पढ्ने र आवत जावतमा रोक लगाइएको बताए । उक्त मस्जिदहरुमा रहेका ९ जना पाकिस्तानी, १० जना भारतीय र १० नेपाली नागरिकलाई हरेक चेकजाँच गराएर क्वारेन्टाइनमा राखिएको उनले बताए । स्थानीय प्रशासनले प्रदेश १ स्थित प्रत्येक मस्जिदहरुमा कडाइ गरेर एक जना धर्मागुरुलाई मात्रै बस्ने व्यवस्था गरेको छ । मस्जिदहरुमा आवतजावतमा समेत रोक लगाएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्रालयका स्रोतव्यक्ति ज्ञानबहादुर बस्नेतले भुल्के मस्जिदका संक्रमित १३ जना नेपालमै संक्रमित भएको बताउनुभाये । ‘ट्राभल हिस्ट्रिका आधारमा उनीहरु ३५ दिनदेखि भुल्केको मस्जिदमा बसेकाले त्यही संक्रमित भएको हुन सक्ने अबस्था छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले भुल्केका सबै जनाको स्वाब परीक्षणको काम भइरहेको छ ।’ शनिबार एक महिलासहित ६९ जनाको स्वाबको नमूना संकलन गरी परीक्षणका लागि कोशी अस्पताल ल्याइएको बस्नेतले बताउनुभयो । ‘संघीय सरकारले हेलिकेप्टरमा आइतबार विज्ञ प्राविधिक पठाएर स्वाब संकलन गरिरहेको छ, ’उहाँले भन्नुभयो, ‘मोरङ, सुनसरीका प्रत्येक मुस्लिम समुदायका व्यक्तिको स्वाब नमूना संकलन गरी परीक्षण गर्ने तयारी प्रदेश सरकारले गरिरहेको छ ।’