
बिर्तामोड, वैशाख ७ । उदयपुरको मस्जिदमा रहेका १२ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएसँगै झापाका मस्जिदमा रहेका भारतिय नागरिकहरुलाई समेत क्वारेन्टाइनमा पुर्याइएको छ । झापाको बिर्तामोडस्थित मामे मस्जिदमा रहेका ९ जना भारतिय नागरिकलाई बिर्तामोड नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको हो ।
मस्जिदमा रहेका भारतीय नागरिकका कारण कोरोनाको संक्रमण फैलनसक्ने त्रास बढेको भन्दै स्थानीयले असन्तुष्टि जनाएपछि नगरपालिकाको पहलमा क्वारेन्टाइनमा पु¥याइएको हो । आइतबार क्वारेन्टाइनमा लगिएका सबैको आरडिटी परिक्षण गरिसकिएको र सबैको नेगेटिभ रिपोर्ट आएको नगारपालिकाले जानकारी दिएको छ ।
यसैगरी शनिबार दमक–६ स्थित जामे मस्जिदमा रहेका ११ भारतीय धर्मगुरुसहित १४ को आरडिटी परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । आरडिटी परिक्षणको रिपोर्ट भने सबैको नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता गीता अधिकारीले बताउनुभयो ।
उनीहरु केही दिनयता मस्जिदमै सेल्फ क्वारेन्टाइनमा बसेका थिए । देशका विभिन्न मस्जिदमा कोरोनाका बिरामी भेटिन थालेपछि झापाका मस्जिदमा समेत निगरानी बढाउन नगरवासीले आवाज उठाउँदै आएका छन् । झापामा मात्रै ७० वटा मस्जिद र ४९ वटा मदरसा छन । बिर्तामोड र दमक–७ स्थित जामा मस्जिदमा २३ जना भारतिय नागरीक रहेका छन् ।