कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ । जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास आवश्यक नपर्ने भएको हो । सवारी पास नभए पनि केही शर्तको पालना भने गर्नुपर्ने छ ।
जिप्रकाले शनिबार जारी गरेको सार्वजनिक सूचनाअनुसार विवाह हुने स्थानीय तहको सिफारिस बोक्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्ने, कमभन्दा कम व्यक्ति लिएर विवाह सम्पन्न गर्नुपर्ने छ ।
विवाहमा सहभागी हुने दुवैतर्फका जन्तीले सामाजिक दूरी कायम गर्नुपर्ने र कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी सावधानी अपनाउनुपर्ने छ ।