
काठमाडौँ। विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएन) को संख्या २८ पुगेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित “कोभिड १९” उच्चस्तरीय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १, जनाको ज्यान गएको छ भने १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
अहिलेसम्म २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।
संक्रमित हुनेमा देशमा अमेरिका ७ सय, युके २ सय, स्पेन १०, युएई ७१, जर्मनी ४, पोर्तुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२, साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, हङकंङ १, र नेपाल ३१ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ ।
विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो तथ्यांक तयार पारिएको समितिले जनाएको छ ।
विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार विहीवार साँझ सम्म दुई दर्जन भन्दा बढी देशमा १० हजार भन्दा बढी कोरोना पिडितको लागि संघले राहत वितरण गरेको छ ।
यसैबीच गैरआवासीय नेपाली (एनआरएन) को ‘कोविड-१९’ उच्चस्तरीय समितिको बैठक आइतवार बस्ने भएको छ । उक्त बैठकले कोरोना पिडितहरुको लागि राहत वितरणको लागि नयाँ नीतितय गर्ने भएको ‘एनआरएनए कोभिड–१९ उच्च स्तरीय समिति’का प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।