
भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एअरले दुई जना भुटानी नागरिकको उद्धार गरेर आफ्नो देश लगेको छ । नेपालमा रहेका दुई जना नागरिकलाई लिन शनिबार बिहान एटीआर ४२ सिरिजको विमान काठमाण्डौ आएको थियो । यो विमानको क्षमता ३० देखि ५० सिटसम्म हुन्छ ।
जहाजले नेपाली चलचित्रमा अभिनयको लागि नेपाल आएकी भुटानी नायिका उगेन छोदेन र हिमालय एअरलाइन्सका पाइलट सोनाम तोब्गेलाई लिएर थिम्पु फर्केको हो । नायिका उगेन ‘दुई नम्बरी’ नामक नेपाली चलचित्रमा अभिनय गर्न ८० दिनअघि नेपाल आउनुभएको चलचित्रका निर्देशक दिपेन्द्र लामाले जानकारी दिनुभयो ।
भुटान फर्केका दुवै जना पारोको ओलाथाङ होटलमा २१ दिने क्वरेण्टीनमा बसेका छन् । थिम्पुको एक क्वरेण्टीनमा बस्नुभएका पाइलट सोनाम तोब्गेले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘मैले त हिमालय एअरलाइन्समा दुई सय जना हाराहारी बोकेर जहाज उडाउँथे तर आज जम्मा दुई जना मात्रै यात्रु थियौँ, अनौठो लाग्यो ।’
उहाँले आफूलाई भुटान सरकारप्रति गर्व रहेको पनि बताउनुभयो । ‘जहाजको पैसा हामी दुई जनाले ति¥यौँ तर हाम्रो लागि सरकारले जुन रेस्पोन्स गर्यो, त्यसमा मलाई गर्व लागेको छ ।’
‘दुई जनालाई मात्रै लिन विमान आउनेभन्दा त हामी पनि अचम्ममा परेका थियौँ, जहाज आएर उहाँहरुलाई लिएर गएको छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले उज्यालोसँग भन्नुभयो ।
विमान पठाउने बन्दोबस्त भुटान सरकारले नै गरे पनि भाडा भने दुई जनाले तिरेका छन् । दुई जनाले पाँच हजार एक सय अमेरिकी डलर तिरेका थिए ।
दीपेन्द्र लामाद्वारा निर्देशित र किरण नेपाली निर्माता रहेको फिल्म ‘२ नम्बरी’ को गत चैत ८ गतेसम्म कास्कीको घाचोकमा छायांकन भएको थियो । निर्देशक लामाका अनुसार अझै ७५% छायांकन बाँकी छ । लकडाउन खुलेर स्थिति सामान्य भएपछि फिल्मको छायांकन शुचारु हुनेछ । उगेन पनि फिल्मको बाँकी छायांकन सिध्याउन भुटानबाट आउनेछिन् । फिल्ममा उगेनले दयाहाङ राईको जोडी भएर अभिनय गरेकी छिन् । आठवटा भुटानी फिल्ममा अभिनय गरिसकेकी उगेनको यो पहिलो नेपाली फिल्म हो ।
“लामो समयपछि भुटान फर्किन पाउँदा खुसी छु, अब क्वारेन्टाइन अवधिभर फिल्महरु हेर्नेछु र केही किताब पढ्नेछु” – उगेनले पारोस्थित होटेल ओलाथाङ पुगेर भनिन् । उनले अगाडी भनिन् – “अहिलेसम्म भुटानबाहिर सबैभन्दा लामो समय बिताएको यही नै हो । अब परिवारसँग समय बिताउँछु र कामना गर्छु, चाँडै नेपाल फर्केर काम सिध्याउन पाउँ” ।
लकडाउनको समय उगेनले काठमाडौंको एक होटेल र आफन्तको घरमा बिताएकी थिइन् । ‘२ नम्बरी’ मा अभिनय गर्नका लागि उगेनले कलाकार विजय बरालसँग विशेष प्रशिक्षण लिएकी थिइन् । ‘२ नम्बरी’ मा पल शाह र वर्षा राउतको जोडीलाई पनि मुख्य भूमिकामा हेर्न पाइनेछ ।