
६ वैशाख, काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।
प्रदेश १ मा पीसीआरबाट ३ सय ७१ नमुना परीक्षण गर्दा १२ जनामा पोजेटिभ
प्रदेश १ मा शनिबारसम्म १ हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । द्रुत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरूको परीक्षण भएको हो ।
सबैभन्दा बढी आरडिटी विधिबाट १ हजार ५ सय २६ को नमूना परीक्षण भएको छ । यो विधिबाट परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको छ । शनिबार सुनसरीको हरिनगरामा परीक्षण गर्दा १ जना पुरुषमा पोजेटिभ आएको हो । बाँकी २ जनाको पिसिआर विधिबाट गरीने परीक्षणमा नेगेटिभ देखिसकेको छ ।
पीसीआर विधिबाट गरिएका कूल ३ सय ७१ परीक्षणमध्ये १२ जनामा पोजेटिभ देखिएको छ । उनीहरुको नमूना कोसी अस्पतालपछि काठमाडौंमा लगेर पुनः परीक्षण गर्दा पोजेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । सबै उदयपुरको मस्जिदमा बस्दै आएकाहरू हुन् । संक्रमित मध्ये ११ भारतीय नागरिक र १ जना नेपाली नागरिक रहेका छन् । उनीहरूको उपचार प्रदेश सरकारले निर्माण गरेको कोसी अस्पतालमा भइरहेको छ ।
आरडीटी विधिबाट जम्मा २ सय १० महिला र १ हजार ३ सय १६ जनाको परीक्षण भएको छ । पीसीआर विधिबाट भने ६८ महिला र ३ सय ३ जना पुरुषको परीक्षण भएको हो । ५७ पुरुष र २ सय ८६ पुरुषको नतिजा भने नेगेटिभ आएको छ । स्वाब संकलन गरेको ल्याबमा ल्याएर गरिने परीक्षण विधि पीसीआर हो । कोरोना सूचना डेस्कका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोसी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ ।