
उदयपुरको भुल्केमा रहेको मस्जिदमा भेटिएका कोरोना संक्रमितसँगै बसेका एक व्यक्ति सुनसरीको भोक्राहामा फेला परेका छन् ।कोरोना संक्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्ति सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भेटिएका हुन् । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ का ४६ वर्षीय व्यक्ति उदयपुरमा संक्रमित पाइएका भारतीय मुस्लिम नागरिकहरुको समूहमा १० दिन बसेर फर्किएको सूचनाका आधारमा उनलाई क्वारेन्टाइनमा पठाइएको छ ।
नेपाल मुस्लिम संघका प्रदेश- १ का सभापति हाजी इसराइल मन्सुरीका अनुसार ४६ वर्षीय व्यक्तिको बारेमा स्थानीयवासीले जानकारी दिएका थिए । त्यसपछि उनलाइ प्रहरी सहितको टोलीले स्वास्थ्य परीक्षणसंगै क्वारेन्टाइनका लागि बिराटनगर पठाएको छ ।घरमा लुकेर बसेको अवस्थामा गाउँलेले सूचना दिएपछि मात्र ४६ वर्षीय व्यक्तिको विषय बाहिरिएको हो । पछिल्लो घटना क्रमले सो क्षेत्रमा अन्य व्यक्ति समेत लुकेर बसेको हुन सक्ने आशंकामा खोजी थालिएको छ ।यसैबीच, कोरोना संक्रमितको सम्पर्कमा रहेको पाइएका भोक्राहाका व्यक्तिलाई इनरुवा अस्पतालले घर फर्काएको विषयप्रति नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशले आपत्ति जनाएको छ ।
उदयपुरमा सँगै बसेका व्यक्तिमा कोरोना संक्रमण पाइदा उनीहरुसँगै रहेर फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा नपठाई सामान्य रुपमा लिएर फर्काउनु जायज नभएको अन्सारीको भनाई छ । उनले भाइरस फैलन सक्ने जोखिम बढेको अवस्थामा तत्काल लक्षण नदेखिएको भन्दै फर्काइनु भोलिका लागि सम्भावित जोखिमको कारक बन्न सक्ने बताए ।उता इनरुवा अस्पतालले भने परिक्षणको क्रममा कुनै शंकास्पद लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमै बस्ने गरी घर फर्काएको जानकारी दिएको छ ।